दशैंअघि नै १२ कक्षाको परीक्षा

2021-08-26


कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।’

उहाँले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिनुभयो । सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय गरेर चार दिन अघिदेखि विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । करिब एक साता अघि बसेको बैठकमा कोरम नपुगे पनि अधिकांश सांसदले परीक्षा स्थगित गर्न नहुने धारणा राखेका थिए ।

त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउने निर्णय गरेको थियो । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप लगाएपछि परीक्षा शुरु गर्ने गरी सरकार अघि बढेको जानकारी दिँदै भन्नुभयो– ‘अब कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेर परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय गर्ला ।’

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कक्षा १२ को स्थगित परीक्षा लिने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालय तहको अन्तिम परीक्षा भएकाले भौतिक उपस्थितिमै गर्नुको विकल्प नभएको तर्क राख्दै दशैंअघि वा लगत्तै परीक्षा सञ्चालन गर्ने सम्भावना छ ।’

चार दिनअघि सार्वजनिक भएको महालेखा परीक्षकको ५८आंै प्रतिवेदनमा आन्तरिक मूल्याङ्कनको आधारमा एसईईको परीक्षाको नतिजा निकाल्दा परीक्षाको विश्वसनीयता गुमेकाले यस्तो परीक्षा लिन नहुने उल्लेख गरेको छ ।

बोर्डका नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षाको प्रश्नपत्र निर्माणदेखि इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र ढुवानी भइसकेको अवस्थामा एकाएक परीक्षा स्थगित भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएको उल्लेख गर्दै सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई प्रस्ताव गरेपछि सोही प्रस्तावलाई टेकेर सीसीएमसीले बोर्डलाई परीक्षाको मिति पछि सार्न निर्देशन दिएको थियो ।

बोर्डले परीक्षा सञ्चालनका लागि विद्यार्थीको सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरु भीड रोकथाम गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेट अघि नै पुग्नुपर्ने सुझाव दिएको थियो ।

परीक्षाका लागि ४ हजार ३ सय ३५ परीक्षा केन्द्र कायम गरिएको थियो । साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षाअगावै अनिवार्यरूपमा पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्नेलगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो ।
परीक्षा अन्योलतासँगै तयारीमा बसेका ३ लाख ७६ हजार विद्यार्थीको उच्च शिक्षा अध्ययनमा समेत समस्या भएको छ ।